८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएनः बालेन शाह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीद दिवसको अवसरमा शहीदहरूको बलिदान स्मरण गर्दै सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणको प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले राणा शासनको अन्त्यका लागि संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।

ती शहीदहरूको बलिदानपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको हुन नसकेको भन्दै उनले त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्।

बालेन शाहले ८५ वर्षको अवधिमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन्। व्यवस्था फेरिए पनि जनताको सपना पूरा हुन नसकेको र पटक–पटक नेपाली जनता शहीद हुनुपरेको यथार्थ उनले औँल्याएका छन्।

उनले हालै भदौमा भएको ‘जेनजी आन्दोलन’को प्रसङ्ग समेत उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले पनि आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको भन्दै दुःख व्यक्त गरेका छन्। ८५ वर्षअघि जस्तै आज पनि नागरिकले आफ्नो हकका लागि ज्यान गुमाउनुपर्ने अवस्था दुखद भएको उनको भनाइ छ।

बालेन शाहका अनुसार अब शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढ्ने समय आएको छ। लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु आजको प्रमुख दायित्व भएको उनले बताएका छन्।

साथै राज्यका निकायहरूमा भएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउने जिम्मेवारी पनि वर्तमान पुस्ताकै काँधमा रहेको उनको भनाइ छ।

शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई नरहेको उल्लेख गर्दै उनले शहीदको रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न सबैले मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्।

फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना व्यक्त गर्दै उनले यसपटकको शहीद दिवसलाई सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदानलाई सार्थक बनाउने अवसरका रूपमा लिन आग्रह गरेका छन्।