भरपर्दो नेतृत्वलाई जिम्मा नदिए देश प्रयोगशाला बन्छ : प्रवक्ता चालिसे


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो व्यक्ति र पार्टीलाई देशको जिम्मा दिन नसकिए नेपाल प्रयोगशालामा परिणत हुने खतरा रहेको चेतावनी दिएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको भविष्य हलुका प्रयोगको विषय हुन नसक्ने स्पष्ट पारेका हुन् ।

प्रवक्ता चालिसेले नेपाली काँग्रेस कहिल्यै पुरानो नहुने उल्लेख गर्दै व्यक्ति मात्रै पुरानो हुन सक्ने बताए । उनका अनुसार काँग्रेस अहिले नयाँ अनुहार, नयाँ सोच, सिद्धान्त र नीतिसहित अघि बढिरहेको छ। आगामी निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेको जानकारी पनि उनले दिए ।

उनले अहिले आवेग र उत्तेजनामा होइन, भरपर्दो भविष्य हेरेर निर्णय गर्ने समय आएको बताए। देश तरकारी परीक्षण गरेजस्तै प्रयोग गर्ने विषय नभएको उल्लेख गर्दै उहाँले भरपर्दो पार्टी र नेतृत्वलाई नै जिम्मा दिनुपर्नेमा जोड दिए। कुनै कुरा मन नपरेको आधारमा आफ्नो र देशको भविष्य खाल्डोमा हाल्न नहुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले देश गलत हातमा परे अराजकता फैलिन सक्ने र नेपाल सोमालियाजस्तो अवस्थातर्फ जान सक्ने खतरा औंल्याए । शंका र उत्तेजनाको भरमा गरिने निर्णयले दीर्घकालीन क्षति पुर्‍याउने भन्दै उहाँले सबै नागरिकलाई विवेक र संयमका साथ निर्णय गर्न आग्रह गरे ।

उनले अहिले हरेक नागरिकले देशप्रति माया देखाउने बेला आएको बताउँदै जनतालाई मालिक बनाउने लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउँदै काँग्रेस अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।