काठमाडौँ । सरकारले इरानमा रहेका नेपालीलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
अमेरिका र इरानबिच तनाव बढ्दै गएका बेला नेपाल सरकारले आज एडभाइजरी जारी गर्दै इरानमा बसोबास वा कार्यरत नेपाली नागरिकहरूलाई उपलब्ध हुने कुनै पनि माध्यमबाट यथासम्भव छिटो देश छोड्न अनुरोध गरेको हो ।
सरकारले इरान भ्रमण नगर्न पनि सुझाव दिएको छ ।
जारी एडभाइजरीमा भनिएको छ,“इरानमा भइरहेका पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई उक्त देशको अवस्था सामान्य नहुन्जेलसम्म त्यसतर्फ यात्रा नगर्न कडाइका साथ परामर्श दिइन्छ । त्यस्तै, हाल इरानमा बसोबास वा कार्यरत नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट यथासम्भव छिटो देश छोड्न अनुरोध गरिन्छ ।”
इरानस्थित नेपाली नागरिकहरूले आकस्मिक परिस्थितिमा देशबाट निस्कनका लागि सहज बनाउन पासपोर्ट तथा अन्य परिचयपत्रहरू तयार अवस्थामा राख्न पनि सरकारले अनुरोध गरेको छ ।
मन्त्रालयले आवश्यक समन्वयका लागि परराष्ट्र मन्त्रालय,काठमाडौँ तथा नेपाली दूतावास, दोहासँग सम्पर्क गर्न भनेको छ ।
इरानमा आन्तरिक प्रर्दशन भइरहेको छ भने अमेरिकासँग समेत तनाव बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्