भन्सार र हुलाक कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ, २३ मोबाइल र २ लाख ६८ हजारभन्दा बढी रकम बरामद


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई घुस/रिसवत तथा स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २३ थान मोबाइल सेटसमेत बरामद गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी तथा संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई नियन्त्रणमा लिइएको हो ।

कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई आइतबार डिल्लीबजारस्थित गोश्वरा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुस/रिसवतबापत लिइसकेको १० हजार रुपैयाँ, सोही स्थानबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र निजको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ बरामद गरिएको छ । यसरी पुडासैनीको साथबाट जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ फेला परेको आयोगले जनाएको छ ।

त्यसैगरी नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस/रिसवतबापत लिइसकेको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ ।

साथै अन्य स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ र विभिन्न व्यक्तिबाट संकलन गरिएका २३ थान मोबाइल सेट नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।