नेपालमै एसेम्बल गरिएको १४ सिटर इभी परीक्षणको तयारीमा सुन्दर अटो इन्जिनियर


काठमाडाैँ । सुन्दर अटो इन्जिनियरिङ प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (इभी) सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा उक्त इभीको परीक्षण सञ्चालन गर्ने जनाएको छ।

कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो।

सुन्दर अटो इन्जिनियरिङले २०७६ भदौ २३ गतेदेखि काठमाडौँमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ। विद्युतीय सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले नेपालमै पहिलोपटक ‘सुन्दर चार्जिङ स्टेसन’ स्थापना गरी सञ्चालनमा ल्याएको थियो।

सोही क्रममा तीन पाङ्ग्रे सवारी साधनमा देखिँदै आएको भीडभाड र दुर्घटनाको जोखिम कम गर्न सुरक्षित तथा व्यवस्थित चार पाङ्ग्रे सवारी विकास गर्ने अवधारणा अघि सारिएको अध्यक्ष थापाले जानकारी दिए। नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमण गरेपछि यो परियोजना अघि बढाइएको उनको भनाइ छ।

थापाका अनुसार हाल निर्माण गरिएको सवारीमा ६० प्रतिशतभन्दा बढी पार्टपुर्जा नेपालमै उत्पादन गरिएको हो भने बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर एसेम्बल गरिएको छ।

हाल सवारी निर्माण अन्तिम चरणमा पुगेको र काठमाडौँको सडकमा परीक्षण गरेपछि यातायात व्यवस्था कार्यालयमा दर्ताका लागि लैजाने तयारी गरिएको उनले बताए।

अध्यक्ष थापाले तीन पाङ्ग्रे सवारीका कारण सहरमा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढ्दै गएको उल्लेख गर्दै चार पाङ्ग्रे ईभीले यसमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार वातावरणमैत्री यो सवारी साधन स्वदेशमै उत्पादन भएको विद्युतबाट सञ्चालन हुने भएकाले इन्धन आयातमा समेत राहत पुग्नेछ।

सुन्दर अटो इन्जिनियरिङले निर्माण गरेको १४ सिटर ईभीमा एसी र पंखा जडान गर्न मिल्ने व्यवस्था छ भने सिसा जडित सुरक्षित संरचना रहेको छ। सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्न सक्ने क्षमता राख्छ।

मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौँ उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालनका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। भविष्यमा दुर्गम क्षेत्रसम्म सञ्चालन गर्न सक्ने गरी सवारी विकास गर्ने योजना पनि रहेको अध्यक्ष थापाले जानकारी दिए ।

एक सवारी निर्माण गर्न हाल सात दिन लाग्ने गरेको र ठूलो परिमाणमा उत्पादन गर्दा दुई दिनमै सवारी तयार गर्न सकिने उनको भनाइ छ। सवारीको डिजाइन भारतमा तयार गरिएको भए पनि बडी डिजाइन, वायरिङ तथा अधिकांश संरचना नेपालमै निर्माण गरिएको हो। प्रयोग भएका सबै पार्टपुर्जामा एनएस प्रमाणपत्र प्राप्त सामग्री मात्रै प्रयोग गरिएको थापाले स्पष्ट पारे।

भैरहवामा कार एसेम्बल भए पनि सार्वजनिक यातायातका लागि १४ सिटर ईभी उत्पादन गर्ने पहिलो प्रयास आफूहरूले गरेको थापाको दाबी छ। सरकारले नीतिगत रूपमा सहयोग र सहजीकरण गरे आगामी वर्ष ठूलो संख्यामा यस्ता सवारी उत्पादन गर्न सकिने उनले बताए। सवारीको मूल्य भने सरकारी परीक्षणपछि मात्र सार्वजनिक गरिने जानकारी दिइएको छ।

विद्युतीय सवारी उत्पादन तथा एसेम्बलमा कानुनी जटिलता नै सबैभन्दा ठूलो चुनौती बनेको अध्यक्ष थापाको भनाइ छ। नेपालमा रहेका पुराना कानुन समयसापेक्ष रूपमा परिमार्जन नहुँदा नवप्रवर्तन गर्नेहरू निरुत्साहित भएको उनले गुनासो गरे। अन्य देशमा कानुनले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तर नेपालमा भने भन्सार, भ्याटलगायत विभिन्न करका कारण स्वदेशमै रोजगारी सिर्जना गर्न खोज्नेहरू निराश बन्ने अवस्था रहेको उनको भनाइ छ।

पेट्रोल र डिजेलबाट चल्ने सवारीलाई ईभीमा रूपान्तरण गर्ने हालको व्यवस्था पनि अव्यवहारिक रहेको थापाले उल्लेख गरे ।हाल तीन वर्षका लागि मात्र ईभी बनाउन दिने प्रावधान रहेको भन्दै उनले प्रश्न गरे, “कसले तीन वर्षका लागि १०–१५ लाख खर्च गरेर ईभी बनाउँछ ?”

आउँदो साताभित्र सवारी सडकमा परीक्षण गरी यातायात विभागमा लैजाने तयारी रहेको बताउँदै अध्यक्ष थापाले त्यसपछि सरकारले कस्तो सहयोग गर्छ भन्ने कुराले भविष्यको बाटो तय गर्ने बताए ।