नेपालमा निपाह भाइरसको कुनै घटना पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले निपाह भाइरसको जनस्वास्थ्य जोखिम विश्वव्यापी तथा दक्षिण-पूर्वी एसियामा न्यून रहेको मूल्याङ्कन गरे पनि, छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सचेत गराएको छ। मन्त्रालयका अनुसार निपाह भाइरसको परीक्षणका लागि अन्तरिम एल्गोरिदम समेत तयार पारिएको छ।

निपाह भाइरस सङ्क्रमित फलाहारी चमेराको रयाल, पिसाव वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा मानिसमा सङ्क्रमण फैलिन सक्नेछ। साथै, सङ्क्रमित व्यक्तिको रगत, थुक वा नजिकको सम्पर्कबाट र चमेरोबाट सुंगुर हुँदै पनि मानिसमा सङ्क्रमण सर्न सक्ने जोखिम छ।

स्वास्थ्य मन्त्रालयले जनतालाई फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा पानी उमालेर मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा मास्क र दस्ताना प्रयोग गर्ने, हात साबुन पानीले नियमित धुने, भिडभाडमा मास्क लगाउने जस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्न अनुरोध गरेको छ।

मन्त्रालयले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, चक्कर, खोकी, सास फेर्न गाह्रो, वान्ता वा गम्भीर अवस्थामा अचेत हुने लक्षण देखिने व्यक्तिहरूको शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ तथा संक्रमण नियन्त्रणका उपाय कडाइका साथ पालन गर्न सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ। शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

हालसम्म नेपालमा निपाह भाइरसको कुनै घटना पुष्टि नभएको र स्वास्थ्य निकायहरू पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सबै नागरिकलाई अफवाहमा नपर्न, आधिकारिक सूचनामात्र विश्वास गर्न तथा आफू र परिवारको सुरक्षा सुनिश्चित गर्न सतर्क रहन आग्रह गरेको छ।