ग्यासको समस्या केही समय भित्रै सामान्य हुन्छः आयल निगम


काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा एल.पि.ग्यासको अभाव भएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने एलोकेसनको परिमाण ४९ हजार ५०० मे.टन रहेकोमा नोभेम्बर २०२५ मा ४७ हजार २६४ मे.टन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मे.टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मे.टन ग्यास उद्योगहरुले आयात गरि विक्री गर्दै आएको निगमले जनाएको छ ।

यो परिमाण जाडोयामको माग धान्न पुग्ने रहेको उल्लेख गरेको छ । हाल बजारमा केहि उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यकरण गर्न निर्देशन दिएको निगको भनाइ छ । निगमले केही समय भित्रै सामान्य हुने उल्लेख गरेको छ ।

बजारमा एल.पि ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्येनजर गरी निगमले फ्रेबुअरी २०२६ का लागी साविकको परिमाणमा २ हजार मे.टन थप गरी इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट आयात गर्न बोटलर्स वाइज एलोकेसन पठाईसकेको जनाएको छ।

उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न र ग्यासको अनावश्यक भण्डारण नगर्न निगमले अनुरोध गरेको छ।