काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले संविधानले दिएको अधिकारअनुसार कानून निर्माण र कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रदेश सरकारहरू संघ सरकारकै भर पर्नु पर्ने प्रवृत्तिका कारण संविधानले सुनिश्चित गरेको एकल अधिकारसमेत प्रभावकारी रूपमा प्रयोग हुन नसकेको बताएका हुन्। संघीय सरकारले पनि संघीयताको मर्म र भावनाअनुसार काम गर्न नसकेको उनको धारणा छ।
सिटौलाले साझा अधिकारको प्रयोगमा केही जटिलता देखिनु स्वाभाविक भए पनि एकल अधिकारको प्रयोगमा समेत प्रदेश सरकारहरूले अपेक्षित क्षमता प्रदर्शन गर्न नसक्नु दुःखद् भएको उल्लेख गरे। संघीयता कार्यान्वयनको मूल समस्या यही रहेको भन्दै उहाँले जुनसुकै सरकार भए पनि संघीय संरचनाअनुरूप काम गर्न नसकेको अनुभव व्यक्त गरे।
प्रदेश सरकारहरू अझै पनि केन्द्रकै भर पर्ने अवस्थामा रहेको र त्यसको विपरीत स्थानीय तहले भने केही हदसम्म सक्रियता देखाएको उनको भनाइ छ। संविधानअनुसार प्रदेश सरकारहरूले आफ्नै अधिकार प्रयोग गर्दै कानून निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्ने भए पनि त्यो क्षमता विकसित हुन नसकेको उनले बताए ।
उनका अनुसार संविधानको अनुसूचीमा अधिकारको स्पष्ट बाँडफाँड भए पनि साझा अधिकारमा सहकार्यको अभाव र एकल अधिकारमा समेत पहल नहुनु संघीय शासन प्रणालीका लागि चुनौती बनेको छ। स्थानीय तहले केही काम गर्न खोजे पनि कानून निर्माणका लागि अझै केन्द्रबाट निर्देशन आवश्यक पर्ने अवस्था कायमै रहेको उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्