काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई वास्तविक रूपमा श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बाहिरबाट हेर्दा आकर्षक देखिए पनि फ्रि भिसा र फ्रि टिकटको व्यवस्थाले वैदेशिक रोजगारी क्षेत्रमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका हुन् । उनका अनुसार उक्त व्यवस्थाका कारण राजस्व चुहावट, कर छलि तथा संगठित अपराधसमेत बढिरहेको छ ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रमा विद्यमान सिन्डिकेट प्रणाली अन्त्य गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै एक महिनाभित्र सबै सिन्डिकेट तोड्ने दाबी गरे। साथै, श्रमिकलाई विभिन्न ट्र्यापमा पार्ने प्रकृतिका कार्यविधि खारेज गरी आवश्यक नीतिगत सुधार गरिने उनकाे भनाइ छ ।
“हामी साँच्चिकै श्रमिकमैत्री बनेका छैनौँ, आत्मसमीक्षा गर्न जरुरी छ,”मन्त्री भण्डारीले भने, “वैदेशिक रोजगार ऐनअन्तर्गतको नियमावलीको नियम ५२ (३) ले कार्यविधिको माध्यमबाट यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने व्यवस्था गरेको छ । त्यसैअनुसार अब सुधारतर्फ अघि बढ्नुपर्छ ।”
उनले अन्तरिम सरकारको कार्यकालमै वैदेशिक रोजगारसम्बन्धी कार्यविधि संशोधनका लागि समिति गठन भइसकेको जानकारी दिँदै समितिले सरोकारवालासँग सुझाव सङ्कलन गर्दै काम गरिरहेको बताए । फ्रि भिसा र फ्रि टिकटजस्ता ‘पपुलिस्ट’ विषयले श्रमिकलाई झनै गुमराहमा पारेको भन्दै यस्ता व्यवस्थालाई निरन्तरता दिन नसकिने उनको धारणा छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र श्रमिकको हितमा केन्द्रित बनाउन अब स्पष्ट नीतिगत निर्णय आवश्यक रहेको मन्त्री भण्डारीले जोड दिए ।


प्रतिक्रिया दिनुहोस्