काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी तथा दुरुपयोग गरेको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालको बिलिङ काउन्टरबाट सङ्कलन भएको सेवा शुल्क सरकारी खातामा दाखिला नगरी हिनामिना तथा दुरुपयोग गरिएको अख्तियारको दाबी छ। आयोगका अनुसार सो कार्यबाट सार्वजनिक सम्पत्तिमा ठूलो आर्थिक क्षति पुगेको छ।
अख्तियारले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनालाई प्रतिवादी बनाएको हो। उनीहरूले सेवा शुल्क संकलनपछि नियमानुसार दाखिला नगरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै कुल ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा विगो कायम गरेको छ। सोही विगो बराबर कैद सजाय र जरिवाना गरी रकम असुल उपर गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्