काठमाडाैँ । नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले यसपटकको निर्वाचन सामान्य चुनाव मात्र नभई देशको भविष्य तय गर्ने निर्णायक ‘ठूलो जनमतसंग्रह’ भएको बताएका छन् ।
निर्वाचन प्रचारका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले देश बनाउने शक्तिहरू र देशलाई अस्थिरता तथा विघटनतर्फ लैजान खोज्ने शक्तिहरूबीच निर्णायक लडाइँ भइरहेको उल्लेख गरेका हुन्।
उनले यो निर्वाचनमा देश बनाउने पक्षले जित्नै पर्ने र देशलाई जलाउने पक्षले हार्नै पर्ने धारणा राखे। “यो सवाल नेकपा एमाले वा ईश्वर पोखरेलको मात्र होइन, यो देशको सवाल हो,” उनले भने “देश बनाउने कि जलाउने भन्ने लडाइँमा हामीले जित्नै पर्छ।”
नेता पोखरेलले आफू सधैँ राष्ट्रिय हित, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो। जनतालाई बचन दिँदै उहाँले देशको अहित हुने कुनै पनि काम आफूबाट नहुने स्पष्ट पारे ।
उनले जातीय तथा सामाजिक सद्भाव नै नेपालको आधार भएको उल्लेख गर्दै त्यसलाई कमजोर पार्न नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए। “यदि जातीय सद्भाव बिग्रियो भने देश रहँदैन, देश रहेन भने हामी पनि रहँदैनौँ,” उनले भने ।
जातीय सद्भाव नेकपा एमालेले उठाएको मूल झण्डा भएको उल्लेख गर्दै नेता पोखरेलले त्यो झण्डा कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाए । उनले एमालेले सुरू गरेको विकास अभियानलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । यद्यपि ती प्रयासहरूलाई असफल बनाउँदै विकासको अभियानलाई पुनः मजबुत रूपमा अघि बढाइने उनको दाबी थियो।
देशको समृद्धि, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा जनताको बलियो समर्थन आवश्यक रहेको उल्लेख गर्दै नेता पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको विजय नै देश निर्माणको आधार बन्ने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्