काठमाडाैँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई गम्भीर रूपमा प्रभावित पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्ने विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले यस्तो धारणा राखेका हुन् ।
भेटमा आयुक्त भण्डारीले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने गलत प्रयोग नियन्त्रण गर्न सबै सरोकारवालाबाट सजगता आवश्यक रहेको बताए ।उनले निर्वाचन प्रयोजनका लागि टिकटकले जनाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा पवित्र सोचका साथ निःशुल्क रूपमा निर्वाचनलाई सफल बनाउने प्रयास महत्वपूर्ण रहेको उल्लेख गरे ।
निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रामक सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ । यस सन्दर्भमा टिकटकजस्ता प्लेटफर्मबाट प्राप्त प्रतिबद्धता र सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको आयुक्त भण्डारीले बताए ।
उनले भने,”आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । प्रविधिको दुरुपयोगले निर्वाचन प्रक्रियालाई दखल पार्ने, बिथोल्ने र निर्वाचनको स्वच्छ माहोललाई धमिल्याउने प्रयास हुन सक्छ । अहिले विश्वको नजर नेपालको निर्वाचन आयोग र निर्वाचन प्रक्रियामाथि छ । टिकटकमार्फत निर्वाचनलाई सहयोग गर्ने प्रतिबद्धता निकै महत्वपूर्ण छ ।”
विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको सन्दर्भमा नेपालमा पनि प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जाल प्लेटफर्महरूसँगको सहकार्य अझ प्रभावकारी बनाइने आयोगको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्