काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सवको अवसरमा बिहीवार कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्।
टेलिकममा आबद्ध तीन कर्मचारी सङ्गठनले संयुक्त रूपमा वार्षिकोत्सवकै दिन विरोध जनाउँदै आफ्ना मागप्रति संस्थाको ध्यानाकर्षण गराएका हुन्।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन–नेपाल टेलिकमले ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित मौन प्रदर्शन गरेका थिए।
उनीहरूले आवधिक बढुवा लागू गरिनु पर्ने, कर्मचारी विनियमावली संशोधन गरिनु पर्ने र सेवा सुविधा कर्मचारीको अधिकार भएको उल्लेख गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
कर्मचारी विनियमावली समयमै संशोधन नहुँदा १३–१४ वर्षसम्म एउटै पदमा बस्नुपरेको उनीहरूको गुनासो छ। विनियमावली २००८ पछि वृत्तिविकास अवरुद्ध भएको र अधिकृत तहमा बढुवा रोकिँदा संस्थाभित्र संरचनागत असन्तुलन सिर्जना भएको युनियनहरूको दाबी छ।
साथै साधारणसभाबाट स्वीकृत बोनस तथा नेपाल सरकारको निर्णयअनुसार उपलब्ध गराइनुपर्ने महँगी भत्ता वितरण रोकिएकोप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्। सेवा सुविधा अवरुद्ध हुँदा कर्मचारीको मनोबल घट्नुका साथै उत्पादनशीलतामा समेत नकारात्मक असर परेको उनीहरूको भनाइ छ।
कर्मचारी सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संस्थाभित्र देखिएका विभिन्न समस्या तत्काल समाधान गर्न माग गरेका छन्। विज्ञप्तिमा हाल प्रयोगमा रहेको बिलिङ प्रणाली पुरानो भइसकेको र नयाँ बिलिङ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार तथा सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको उल्लेख छ।
साथै केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेको भन्दै यस विषयमा कडा नियमन आवश्यक रहेको पनि जनाइएको छ।
सेवाग्राहीले सहज, सस्तो र गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न २४ घण्टा सेवा सुधारमा संस्थाले विशेष ध्यान दिनुपर्ने माग कर्मचारी सङ्गठनहरूको छ।
परियोजना कार्यान्वयनमा देखिएको ढिलाइ, कर्मचारी वृत्तिविकास र सेवाग्राही अधिकारका विषयमा तत्काल सुधार नगरे समस्या झन् जटिल बन्दै जाने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।


प्रतिक्रिया दिनुहोस्