भीरकोट र पुतलीबजारका नगरप्रमुखद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन, कांग्रेसको पक्षमा खुलेआम मागे भोट


काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्याङ्जाका स्थानीय तहका जनप्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधि बढ्दै गएको छ।

निर्वाचन आचारसंहिता २०८२ ले स्थानीय तहका जनप्रतिनिधिलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न स्पष्ट रूपमा निषेध गरेको छ। तर स्याङ्जाका भीरकोट र पुतलीबजार नगरपालिकाका नगरप्रमुख तथा वडा अध्यक्षहरूले सो आचारसंहिता उल्लङ्घन गर्दै खुलेआम नेपाली कांग्रेसको पक्षमा भोट मागेका छन्।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका भरत ढकालको पक्षमा भोट मागेका छन्। उनले भीरकोट नगरपालिका वडा नम्बर १ मा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा मल्ललाई जिताए आफूले विकास निर्माणका काम गर्न सक्ने भन्दै मतदातासँग भोट मागेका थिए।

नगरप्रमुख कर्मचार्यले कांग्रेसका उम्मेदवार ढकाल पराजित भए आफ्ना कुरा कसैले नसुन्ने भन्दै मतदातालाई उनलाई नै भोट दिन आग्रह गरेका थिए। अघिल्लो कार्यकालमा नगरप्रमुख छायाराम खनालको पालामा प्रतिनिधिसभा सदस्य पदम अर्याल विजयी हुँदा पनि यस्तै समस्या भोग्नुपरेको उल्लेख गर्दै अहिले आफूलाई काम गर्न सहज हुने भन्दै मल्ललाई जिताउनुपर्ने अभिव्यक्ति दिएका थिए। खनाल नगरप्रमुख हुँदा नेकपा एमालेबाट पदमा अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।

चुनावी कार्यक्रममै कर्मचार्यले ‘जोसुकैले जे भने पनि हामीले गर्नुपर्ने आवश्यकता बढी रहेको’ भन्दै बाटोघाटो सबै बनेको दाबीसमेत गरेका थिए। सोही अभियानमा भीरकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष दिपेन्द्र केसी र वडा नम्बर ८ का अध्यक्ष नन्दलाल खनालले पनि मतदातासँग खुलेआम भोट हाल्न अपिल गरेका थिए। नगरप्रमुख कर्मचार्य, वडा अध्यक्ष केसी र खनाल तीनै जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

यसैगरी, स्याङ्जाकै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै राजनीतिक दलको पक्षमा भोट मागेका छन्। उनले ‘देश जलाउने हो भने घन्टीमा भोट हाल्नुस्, देश बचाउने हो भने रुखमा भोट हाल्नुस्’ भन्दै मतदातासँग प्रत्यक्ष रूपमा भोट मागेका थिए।

त्यति मात्र होइन नगरप्रमुख रेग्मीले पालिकाको सरकारी गाडी प्रयोग गरेर चुनावी प्रचारप्रसार गर्दै भोट मागेका छन्। निर्वाचन आचारसंहिता अनुसार सरकारी स्रोत, साधन तथा सवारी प्रयोग गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ। रेग्मीको निर्वाचन क्षेत्र स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ नै हो, जहाँ काँग्रेसबाट ढकाल उम्मेदवार रहेका छन्।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ (क) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउँदैनन्। साथै दफा ५ (ख) अनुसार सरकारी स्रोत र साधन प्रयोग गरी निर्वाचन प्रचारमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था छ।

जिम्मेवार पदमा रहेका जनप्रतिनिधिबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन हुनु निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादामाथि गम्भीर प्रश्न हो। यस्तो कार्यले निर्वाचन प्रक्रियामाथि नै असर पार्ने भएकाले निर्वाचन आयोगको निगरानी र कारबाहीको आवश्यकता झनै बढेको देखिन्छ।