काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका नारा र लक्ष्य स्पष्ट र महत्वाकांक्षी हुनुपर्ने बताएका छन्। कांग्रेसले मुलुकको नेतृत्व एक्लै सम्हाल्न सक्ने हैसियत बनाइसकेको दाबी गर्दै उनले आगामी निर्वाचनमा ‘अबकी बार कांग्रेसको सरकार’ भन्दा पनि ‘अबकी बार सय पार’ भन्ने नारा लिएर जनतामाझ जान आग्रह गरेका हुन्।
कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले एकल बहुमतसहित सरकारको नेतृत्व गरे मात्र देशको दिगो विकास सम्भव हुने धारणा राखे।
त्यसका लागि अब मत माग्दा स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो। मधेस जाँदा समेत पुरानै शैलीको नारा दोहोर्याउन नहुने उल्लेख गर्दै उनले नारा लगाउने नै भए ‘अबकी बार सय पार’ भन्न कार्यकर्तालाई सुझाए।
महामन्त्री थापाले सय सिट पार गर्ने लक्ष्य सम्भव रहेको दाबी गर्दै त्यसतर्फ आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए। “यसपालि त्यहाँ पुर्याउने हो, मज्जाले जाने हो। सकिन्छ पुग्न, बहुमतसम्म मज्जाले पुग्न सकिन्छ,” उनले भने।
उनले यो लक्ष्य हासिल गर्न नेता–कार्यकर्ताले थप मेहनत गर्नुपर्नेमा जोड दिए। पार्टीको प्रत्येक सदस्यले आफू नै उम्मेदवार भएको ठानेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले कांग्रेससँग १० लाखभन्दा बढी क्रियाशील सदस्य रहेको र वडा–टोलसम्म बलियो संगठन भएको पार्टी भएको स्मरण गराए।
महामन्त्री थापाले कांग्रेसको वास्तविक शक्ति पहिचान गर्न नेता–कार्यकर्तालाई आग्रह गरे। तल्लो तहसम्म पुगेर कांग्रेसले देश सम्हाल्न र व्यवस्थामा सुधार गर्न सक्ने विश्वास जनतामा जगाउनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्