मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समय राजनीतिक वृत्तमा जानाजानी फैलाइँदै आएको ‘सबै पार्टी र सबै उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्यको कडा खण्डन गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित चुनाव प्रचार–प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो भाष्यले जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको बताएका हुन्। उनले सबै राजनीतिक दल र उम्मेदवारलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने स्पष्ट पारे ।

विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै नेता सापकोटाले मनग्य पैसा कमाएर, धन–दौलत जम्मा गरेर तथा केवल पद र प्रतिष्ठाको आशक्तिमा राजनीतिमा आएका व्यक्तिहरू र आफूहरू एउटै नभएको जिकिर गरे। “मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र पद तथा प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँ,”उनले भने ।

नयाँ उम्मेदवारहरूलाई आधारभूत प्रशासनिक संरचनासमेत जानकारी नभएको आरोप लगाउँदै उहाँले कुन सरकारी कार्यालय कहाँ पर्छ भन्ने सामान्य ज्ञानसमेत नभएकाहरूको कुरा हाँस्यास्पद हुने टिप्पणी गरे । “कुन कार्यालय कहाँ पर्छ भन्ने जानकारी नहुनेले के गर्छन् रु यस्ता हाँस्यास्पद कुरा गर्नेहरूसँग हामीलाई तुलना गर्नु न्यायसंगत हुँदैन,”उनले भने।

नेता सापकोटाले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक रूपमा यस्ता भ्रम चिर्न निर्देशन पनि दिए। “सबै पार्टी र उम्मेदवार उस्तै हुन् भन्ने भाष्यलाई दिनको एउटा पोस्ट लेखेर गम्भीरतापूर्वक खण्डन गरौँ,” उनले भने ।

उनले यस प्रकारको तुलना पहिल्यै रेडियो नेपालमा प्रसारित ‘हात्तीछाप चप्पल र हात्ती कुन बलियो’ भन्ने विज्ञापनसँग तुलना गर्दै भने “हात्तीछाप चप्पल र हात्ती उस्तै होइनन्। त्यसरी नै सबै पार्टी र उम्मेदवार उस्तै हुँदैनन्। यो कुरा जनतालाई जोड जोडले, ठूलो स्वरले सुन्ने गरी भन्नुपर्छ।”

पार्टीका तर्फबाट विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै नेता सापकोटाले जनतासँग गएर आत्मालोचना गर्न र रुपान्तरणका लागि तयार हुने पार्टी पनि आफूहरू नै भएको दाबी गरे । उनले पार्टीका कार्यकर्ताहरूलाई सक्रिय रूपमा जनतामाझ जाने र विरोधी भाष्यको प्रभावकारी प्रतिवाद गर्न आह्वान गरेका छन् ।