काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिए ।
सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने बताए ।
काँग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पारे । हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाव दिने पनि बताए ।
काठमाडौँको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेसको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेस नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको उल्लेख गरे ।
पहाडमा जन्मिएको र शहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उहाँले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताए।
उनले ५–५ वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्प समेत व्यक्त गरे ।
नेपाली काँग्रेसले देशको विद्यमान राजनीतिक र सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी पाँच वर्षलाई रूपान्तरणको अवधि बनाउने घोषणा गरेको छ ।
विगतका आन्दोलनहरूबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै पार्टीले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेण्डा बनाएको छ ।
काँग्रेसका सभापति गगन थापाले पार्टीको गौरवमय इतिहासबाट प्रेरणा लिँदै आगामी ५ वर्षलाई नेपालको रूपान्तरणको वर्ष बनाउने उद्घोष गरेका छन्। थापाले आफूहरू पुरानो इतिहासको जगमा उभिएको भएपनि नयाँ सोच र संकल्पका साथ अगाडि आएको बताए ।
उनले भने, “हामी २००७, २०१५, २०३६ र २०४६ का घटनाहरूबाट प्रेरणा लिन्छौँ, तर आजको कमजोरीलाई स्वीकार्दै नयाँ पुस्ताको कुरा सुनेर पार्टीलाई बदल्न तयार छौँ ।”
भ्रष्टाचारलाई नेपालको ‘महारोग’ संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्नेमा जोड दिए । उनले सार्वजनिक जीवनमा बस्ने व्यक्ति मन्दिरको पुजारी जस्तै इमानदार हुनुपर्ने धारणा राखे । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध भएको बताए ।
“ढुकुटीको चाबी बोकेर बस्नेले एक रुपैयाँ पनि तलमाथि हुन दिनुहुँदैन । आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध हो,” उनले भने ।
आफ्नो स्वास्थ्य मन्त्रीको अनुभव सुनाउँदै उहाँले ‘चटक’ भन्दा पनि ‘सिस्टम’ मा विश्वास गर्ने बताए । स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर कुनैपनि नागरिकले उपचारको लागि घरखेत बेच्नु नपर्ने अवस्था सिर्जना गर्ने उनको सपना रहेको छ ।
“बीमा कार्ड भएपछि नागरिकले उपचारको लागि २० लाख लागोस् कि ५० लाख, ढुक्क भएर अस्पताल जाने वातावरण हुनुपर्छ,” उनले भने ।
मान्छेलाई उचाल्ने कुरा सबैभन्दा बढी सजिलो रहेको तर मिलाउने कुरा सबैभन्दा बढी गाह्रो भएको बताए । काँग्रेस मिलाउने र सम्हाल्ने बाटोमा हिँड्न चाहेको उनले उल्लेख गरे ।
कतार र मलेसिया जाने युवाहरूको बाध्यता अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्ने र विदेशबाट फर्केकाहरूलाई शून्यबाट सुरु गर्नु नपर्ने गरी सरकारी नीति बनाउनुपर्ने थापाको तर्क छ ।
साना व्यापारीहरूले ऋणको ब्याज तिर्नसक्ने गरी आम्दानी गर्ने वातावरण र संकटमा सरकारले हात थाम्ने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।
सभापति थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताए । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिए ।
“हामी ८४ सालको निर्वाचनको तयारीमा थियौँ, तर भदौका ती दुई दिनले हाम्रो आँखा खोलिदिएको छ,” थापाले भने, “२३ गते हाम्रा निहत्था नौजवानहरू मारिए, २४ गते देशले ठुलो क्षति व्यहोर्यो। यो क्षति र आक्रोश सरकार, प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो ।”
नागरिकको ‘हैरानी’ र नेताको गैर–जिम्मेवारी
नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा बोल्दै थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको उल्लेख गरे ।
“पढाउँदा लाखौँ खर्च भएको छ, तर शहरमा २० हजारको जागिर छैन । बैंकको ऋणले घाँटी थिचेको,” उनले भने, “यो हैरानीको उपचार खोज्ने जिम्मा लिएका हामीले वास्ता नगरेपछि जनता सडकमा आएका हुन् ।”
राजनीतिक ‘नजरिया’ र दुई घातक प्रवृत्ति
थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको विश्लेषण गर्नुभयो । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको बताए ।
“जसले गल्ती र कमजोरी गरेको कुरालाई स्वीकार्दैन, त्यो कायर हो। जसले स्वीकार्छ र सच्याउने हिम्मत गर्छ, त्यो बहादुर हो। हामीले गल्ती गरेका छौँ र ती गल्ती सच्याएर कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ,” उनले भने ।
सुशासनको संकल्प र भ्रष्टाचार विरुद्धको युद्ध
भ्रष्टाचारलाई ‘नेपालको महारोग’ को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्ने बताए । उनले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गरे ।
“प्रधानमन्त्री भएर आफ्नो आमा, छोरी वा श्रीमतीको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन,” उनले भने ।
मधेसको मुद्दा र राष्ट्रिय राजनीति
मधेसको मुद्दा उठाउने अन्य दलहरूलाई लक्षित गर्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौंको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र काँग्रेसले गर्ने बताए ।
सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न सकिँदैन भन्ने आत्मबोध भएको उनको भनाइ थियो ।
“मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन, यो मेरो प्रतिज्ञा हो,” उनले भने ।
थापाले काँग्रेसका उम्मेदवार रामचन्द्र चौधरीलाई निर्वाचित गराउन आग्रह गर्दै ५ वर्ष काँग्रेसलाई मत दिएकोमा कसैले पछुताउनु नपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्