काठमाडाैँ । राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले आगामी निर्वाचनको वातावरण उत्साहजनक नभएको र जनमानसमा धाँधलीको आशंका कायम रहेको बताएकी छन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरिन्।
उनले भनिन्, “चुनावको दिन नजिकै आइसक्यो तर चुनावको जस्तो वातावरण बन्न सकेको छैन। चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेको छ। आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्छ र हाम्रो संविधान र व्यवस्था स्वस्थ भएर फर्किनुपर्छ। सरकारले राष्ट्र र जनताको हितमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने आशा गर्दछु।”
गुरुङले कतिपय राजनीतिक दलहरूले निर्वाचन बहिष्कार गरिरहेको अवस्था रहेको उल्लेख गर्दै ती दलहरूलाई जनतामा त्रास सिर्जना नगरी आफ्ना विचार व्यक्त गर्न आग्रह गरिन् ।
नेपालको भू–राजनीतिक स्थिति र राष्ट्रिय अखण्डताप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। पूर्वी भाग टुक्राउने हल्लाप्रति सचेत रहनुपर्ने र राष्ट्रिय एकतालाई खलल नपुग्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
साथै, गुरुङले वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएका बजेट र योजनाहरू रोक्ने निर्णय गरेकोमा आपत्ति व्यक्त गरिन् र लोकतान्त्रिक गणतन्त्रको पुनर्जीवित गर्न निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया दिनुहोस्