उनेपाकाे प्रतिवद्धता पत्रः पाँच वर्षमा १५ हजार किलोमिटर सडक विकास गर्ने


काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी पाँच वर्षभित्र देशभरको सडक तथा पूर्वाधार विकासमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ।

पार्टीले आज सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सडक स्तरोन्नती, रेलमार्ग र जलयातायात निर्माण तथा मर्मतसम्भारसम्बन्धी कार्यक्रमहरू समेटिएका छन्।

पार्टीका अनुसार आगामी पाँच वर्षभित्र ८ हजार किलोमिटर सडक कालोपत्रे, ४ हजार किलोमिटर ग्राभेल सडक र ३ हजार किलोमिटर नयाँ ट्रयाक खोल्ने काम हुनेछ। विशेष गरी काठमाडौँ–निजगढ, पूर्व–पश्चिम, मध्यपहाडी, हुलाकी राजमार्ग, कोशी–कालिगण्डकी कोरीडोर, सेती लोकमार्ग र कर्णाली कोरीडोरको स्तरोन्नती र विस्तार प्राथमिकतामा पर्नेछ।

रेलमार्ग क्षेत्रमा छोटो यात्राका लागि रक्सौल–काठमाडौँ–केरूङ मार्गको निर्माण अघि बढाइनेछ भने पूर्व–पश्चिम रेलमार्गसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी लगानी मोडालिटी तयार गरिनेछ।

जलयातायातको विकासका लागि कोशी, गण्डकी र कर्णाली नदी बेसिनहरूमा सम्भाव्यता अध्ययन पूरा गरी सम्भावित स्थानहरूमा जलयातायात सुरू गर्ने योजना रहेको छ। साथै, यससँग सम्बन्धित नीति तथा कानुन निर्माण पनि गरिनेछ।

सडक मर्मत तथा व्यवस्थापनका लागि सबै प्रदेशमा रोड एम्बुलेन्सको व्यवस्था गरी प्रमुख सडक र शहरी सडकहरूको द्रुत मर्मतसम्भार सुनिश्चित गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।