‘सेतोपाटी’माथि निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप, कारबाहीका लागि आयोगले पठायो पत्र


काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको आरोपमा सेतोपाटी अनलाइनलाई कारबाहीका लागि पत्र पठाएको छ।

आयोगले सोमबार प्रेस काउन्सिलमार्फत पठाएको पत्र अनुसार सेतोपाटीले आइतबार चितवन–३ को निर्वाचन परिणामबारे ‘सोविता गौतमले जित्नेछिन्, रेणु दाहाल दोस्रो’ र आज मतदानबारे अग्रिम अनुमान दिने समाचार प्रकाशित गरेको थियो ।

आयोगका अनुसार यस प्रकारको समाचार प्रकाशित गर्नु निर्वाचन आचारसंहिता, २०८२ को दफा ४(ख) र दफा २५(९) बमोजिम निषेध गरिएको छ। दफा ४(ख) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा सर्वेक्षण गर्न वा प्रकाशन गर्न पाइँदैन। दफा २५(९) अनुसार कुनै पनि पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्नु पनि निषेधित छ।

आयोगले उक्त कार्यलाई गम्भीर रूपमा लिएको जनाएको छ।यस विषयमा चितवन–३ की उम्मेदवार रेनु दाहालले पनि समाचारप्रति आपत्ति जनाएकी छन्। आयोगले सेतोपाटी अनलाइनविरुद्ध आवश्यक कानुनी कारबाही गर्न प्रेस काउन्सिललाई अनुरोध गरेको छ।