फागुन २१ को निर्वाचन निष्पक्ष र समावेशी ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ, स्वतन्त्र तथा समावेशी ढंगले सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा नागरिक समाज सबै पक्ष तीव्र गतिमा तयारीमा जुटेको स्पष्ट पारिन्। उनले निर्वाचन प्रक्रियालाई लोकतान्त्रिक र विश्वसनीय बनाउन आवश्यक सबै कदम चालिएको जानकारी दिइन्।

उनका अनुसार आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन आयोगले आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम औपचारिक रूपमा सुरु गरिसकेको छ। उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाउन उनले सबै मतदातासमक्ष आग्रह गरिन्।

मन्त्री श्रेष्ठले वर्तमान सरकार सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको उल्लेख गर्दै सरकारको मुख्य जिम्मेवारी नै फागुन २१ को निर्वाचनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नु रहेको बताइन्।

उनले महिला मतदाताको सहभागिता वृद्धि गर्न आवश्यक वातावरण निर्माण गर्ने कार्यमा सरकार लागिपरेको पनि उल्लेख गरिन्। साथै निर्वाचन प्रक्रियामा बालबालिकाको दुरुपयोग हुन नदिन सरकार सजग र सचेत रहेको स्पष्ट पारिन्।