काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।
बैठकले नेपालमा स्टार्टअप र नवप्रवर्तन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्र र सरकारबिच सहकार्य तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति र वित्तीय पहुँच नबढाएसम्म स्टार्टअप इकोसिस्टम सुदृढ नहुने उल्लेख गर्दै निजी क्षेत्र–सरकार सहकार्य आवश्यक रहेको बताए। उनले स्टार्टअपलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी पनि दिएका छन्।
उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा नवप्रवर्तन उद्यमलाई प्रोत्साहन गर्न कर र लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको बताए भने उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला र युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन्।
कोषाध्यक्ष भरतराज आचार्यले फोरमलाई कमिटीमा रुपान्तरण गरी यसको कार्यक्षमता बढाउन संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले सरकारी उद्यम विकास कार्यक्रमहरू निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने जानकारी दिए।
फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस र नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्लेटफर्म सुदृढ बनाउने योजना रहेको बताए।


प्रतिक्रिया दिनुहोस्