अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु


अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी दिएको छ ।

कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको हो ।

गुप्तचर निकायले ती जहाजहरू लागुऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दाबी गरे ।

यस आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको बताइएको छ । यद्यपि अमेरिकी प्रशासनले ती डुङ्गाहरू, कार्गो वा मारिएका व्यक्तिहरूका बारेमा आफ्ना आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध गराएको छैन ।

सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएका डुङ्गाहरूमाथि लगभग ४० पटक आक्रमण गरिसकेको छ ।

जसमा १३० भन्दा बढी मानिसको ज्यान गएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि जहाजहरूमाथि पुनः आक्रमण सुरु गरेको हो ।