कांग्रेसद्वारा प्रतिज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरधाममा सार्वजनिक हुँदै


काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ।

भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिने प्रतिज्ञा पत्र अनुमोदन गरेको हो।

पार्टीले आज जनकपुरधाम मा आयोजना हुने विशेष सभामार्फत उक्त प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। मधेसको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा हुने प्रतिज्ञा सभालाई कांग्रेसले विशेष राजनीतिक महत्व दिएको जनाएको छ।

सभामा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनीहरूले आगामी निर्वाचन, समावेशी लोकतन्त्र, सुशासन र राष्ट्रिय एकताको विषयमा धारणा राख्नेछन्।

कांग्रेसका नेताहरूका अनुसार मधेसको माटोले सदैव प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ। मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राख्दै आएको दाबी गरिएको छ।

कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिज्ञा सभा मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने ऐतिहासिक अवसर हुने बताएका छन्। उनले आगामी निर्वाचनमा मधेसका जनताको विश्वास जित्ने गरी पार्टीले स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए।