कुशासन र बेथितिको सटर बन्द गर्ने सभापति लामिछानेकाे घोषणा


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ स्थायी रूपमा बन्द हुने उद्घोष गरेका छन्।

धनगढीमा आयोजित जनसभामा सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताएका हुन् ।

उनले वर्षौँदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्रै बनाइ अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य आवश्यक रहेकोमा जोड दिए । रास्वपाले नेपालको इतिहासमा पहिलोपटक जनतासँग पाँच वर्षको लिखित ‘कन्ट्राक्ट’ गरेको दाबी गर्दै पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरे । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ।

भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गरे ।उनले सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उनले प्रतिप्रश्न गर्नुभयो, “३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो?”

उनले जनताको अधिकार र समस्यालाई अल्झाउने काम अब बन्द गर्नुपर्ने बताए। लामिछानेले भने, “सटर त एउटा बन्द हुनुपर्छ-कुशासनको सटर, बेथितिको सटर, बेरोजगारी र अशिक्षाको सटर सबै बन्द गर्ने हो। इतिहास लेख्ने हो, भोट हाल्ने होइन। रास्वपाले हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेखिने ‘जनताको माग पाइँदैन’ भन्ने युगको अन्त्य गर्नेछ। अब वाचा पूरा नगर्ने नेताले सजाय पाउने छन्, जनता होइन। त्यसैले हामीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेका छौँ।”

भ्रष्टाचार र बेथितिको पूर्ण अन्त्यका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई लामिछानेले आग्रह गरे ।