प्रजातन्त्र दिवसमा प्रधानमन्त्री कार्कीको चेतावनीः युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ


काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाको असन्तोषलाई दमन गरेर नभइ उनीहरूको आवाजलाई सम्बोधन गरेर मात्रै राष्ट्रलाई अघि बढाउन सकिने बताएकी छन् ।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शासकीय संयन्त्र र राजनीतिक नेतृत्वप्रति कठोर आत्मसमीक्षाको आवश्यकता औंल्याएकी हुन् ।

मुलुकमा पटक–पटक आन्दोलन दोहोरिनुको कारण खोज्दै उहाँले लोकतन्त्रको अभ्यास व्यवहारमा रूपान्तरण गर्न नसकिएको स्वीकार गर्नुपर्ने समय आएको बताइन् ।

उनले २००७ सालको क्रान्तिलाई आधुनिक नेपालको आधारस्तम्भका रूपमा स्मरण गर्दै त्यसपछिका राजनीतिक परिवर्तनहरूले जनताको जीवनस्तरमा अपेक्षित तात्विक सुधार ल्याउन नसकेको तीतो यथार्थ प्रस्तुत गरिन् । बजेट वितरणमा मनोमानी, समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग, छात्रवृत्ति तथा रोजगारीमा हुने ‘काखापाखा’ प्रवृत्ति अन्त्य नभएसम्म लोकतन्त्रको औचित्य स्थापित नहुने उनको भनाइ थियो।

भदौ २३ र २४ मा भएको युवाहरूको आन्दोलनलाई उनले ‘असफल संरचनामाथिको प्रश्न’ का रूपमा चित्रण गरिन्। भ्रष्टाचार, नातावाद र विभेद अन्त्यका मागहरू जायज रहेको उल्लेख गर्दै राज्य अब उदार मात्र नभई विनयशील र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिइन्।

सबल लोकतन्त्रले असन्तोषलाई दमन नगरी सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्ने उनको धारणा थियो। प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल शासकीय संरचनामा सीमित राख्न नहुने बताउँदै यसलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्ने उल्लेख गरिन्। इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतादेखि भान्साको महँगी, खाडीमा रोजगारीका लागि पसिना बगाउने अभिभावकदेखि अस्पतालको बिल तिर्न नसक्ने बिरामीसम्म लोकतन्त्रको अनुभूति पुग्नुपर्ने उनको तर्क थियो।

उनले वर्तमान सरकार भदौको आन्दोलनको पृष्ठभूमिमा गठन भएको स्मरण गराउँदै सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहिता कार्यान्वयनमा प्राथमिकता दिइने स्पष्ट पारिन्। असामान्य अवस्थालाई सामान्यीकरण गर्दै शान्ति–सुव्यवस्था कायम गर्ने र छिटो निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य कार्यादेश रहेको उनले बताइन् ।

लोकतन्त्रको प्रमुख चुनौती भ्रष्टाचार, स्रोत–साधनमा सीमित वर्गको वर्चस्व र दण्डहीनता रहेको उल्लेख गर्दै उहाँले युवा पलायनको मूल कारण पनि यही प्रवृत्ति भएको निष्कर्ष सुनाइन्। युवाले अभाव सहन सक्ने तर अन्याय, अपमान र विभेद सहन नसक्ने चेतावनी दिँदै भविष्यमा पनि यस्ता प्रवृत्ति दोहोरिए विद्रोह अनिवार्य हुने उनले उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले प्रक्रियाको नाममा जनतालाई अल्झाउने कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको रवैयालाई ‘बेथिति’ भन्दै नतिजामुखी कार्यशैली अवलम्बन गर्न निर्देशन दिइन्। लोकतन्त्रको वास्तविक झल्को आम नागरिकको अनुहारमा देखिने सन्तोष र सुरक्षित जीवनमा प्रतिबिम्बित हुनुपर्ने उनको निष्कर्ष थियो।