चुनावले समस्या टार्छ, समाधान गर्दैन : राप्रपा अध्यक्ष लिङ्देन


सुनसरी। राजेन्द्र लिङ्देन ले वर्तमान राजनीतिक व्यवस्था र चुनावी प्रक्रियामाथि प्रश्न उठाउँदै आगामी निर्वाचनले देशका संरचनागत समस्या समाधान नगर्ने चेतावनी दिएका छन्।

सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष लिङ्देनले ०८४ मा हुनुपर्ने चुनावलाई ०८२ मै “जबरजस्ती” गराइएको दाबी गरे। उनका अनुसार वर्तमान व्यवस्थाभित्रै गरिने चुनावले केही समय समस्या टार्न सक्छ, तर दीर्घकालमा झन् जटिल अवस्था निम्त्याउनेछ।

“यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ,” उनले भने।

लिङ्देनले राजनीतिक ध्रुवीकरण बढ्दो रहेको उल्लेख गर्दै देशमा कसैले पनि आफू निषेधित भएको महसुस नगर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। त्यसका लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र शाह ले दिएको सन्देशलाई “सुझाव” का रूपमा आएको बताउँदै उनले त्यसलाई सकारात्मक रूपमा लिन सबै राजनीतिक दललाई आग्रह गरे। “नेपाल प्रथम, नेपाली प्रथम” को भावनासहित राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

आगामी चुनावलाई उनले देशको अस्तित्वसँग जोडिएको विषयका रूपमा चित्रण गरे। सामाजिक सञ्जालका प्रभावमा नपरी गम्भीरतापूर्वक निर्णय गरेर मतदान गर्न मतदातालाई आग्रह गर्दै उनले वर्तमान व्यवस्थामै चुनाव भए देश दुर्घटनातर्फ जाने दाबी दोहोर्‍याए।

लिङ्देनका अनुसार नेपालको संकट व्यक्तिमा मात्र सीमित नभई व्यवस्थागत भएकाले दीर्घकालीन समाधानका लागि व्यवस्था परिवर्तन आवश्यक छ।