काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गरेका छन् ।
बिहीवार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। सङ्घमा बढीमा १६ ओटा र प्रदेशमा ६ ओटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे। गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उनको भनाइ छ ।
सभापति थापाले २०४६ पछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे ।
त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे । उनले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उनको दाबी छ । उनले युवाहरू भविष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरूलाई संविधानमा उल्लेखित सबै हकहरू उपयोग गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्