काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको वाचापत्रमा सार्वजनिक यातायात क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको छ।
पार्टीले लामो दूरीको बस सेवामा देखिएको सिन्डिकेट र कार्टेलिङलाई पूर्ण रूपमा अन्त्य गर्दै नागरिकलाई स्वस्थ प्रतिस्पर्धा, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
रास्वपाले ठूला सहरी क्षेत्रमा सञ्चालन हुने नगर बस सेवालाई चुस्त, सुरक्षित, आरामदायी र भरपर्दो बनाउने योजना अघि सारेको छ।
यसका लागि एउटै प्राधिकरणमार्फत व्यवस्थापन गर्दै केन्द्रीकृत टिकट तथा शुल्क वितरण प्रणाली लागू गरिने वाचापत्रमा उल्लेख छ। विद्युतीय बसको प्रयोग बढाउन भन्सार सहुलियत दिने र वातावरणमैत्री सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने नीति पनि अघि सारिएको छ।
काठमाडौँ उपत्यका तथा तराईका मुख्य कोरिडोरहरूमा सार्वजनिक यातायात विकासका लागि दीर्घकालीन गुरुयोजना तयार पारिने पार्टीको योजना छ। यसबाट यातायात पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउने लक्ष्य लिइएको रास्वपाले जनाएको छ।
सडक सुरक्षालाई प्रविधिसँग जोड्दै सबै सार्वजनिक यातायात साधनमा जीपीएस ट्र्याकिङ अनिवार्य गर्ने, एआईमा आधारित ट्राफिक क्यामेरा जडान गर्ने तथा डिजिटल जरिवाना प्रणाली लागू गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ। गति नियन्त्रण र लेन अनुशासन कडाइ गर्दै पहिलो वर्षमै दुर्घटना दरमा उल्लेख्य कमी ल्याउने लक्ष्य पार्टीले राखेको छ।
सार्वजनिक यातायातमा महिला तथा किशोरीहरूले भोग्नुपर्ने असुरक्षालाई अन्त्य गर्न चितवनमा सफल मानिएको ‘ब्लु बस’ मोडेललाई अन्य सहरमा विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। साथै पैदलयात्रीका लागि सडक छेउ हिँड्ने र सुरक्षित रूपमा सडक काट्ने पूर्वाधार निर्माणमा विशेष पहल गरिने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्