२० वर्षे तयारीपछि पेट्रोलमा इथानोल मिश्रण कार्यक्रम कार्यान्वयनको चरणमा


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताएका छन् । आर्थिक पत्रकार समाजले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले २० वर्षदेखि तयारी भइरहेको यो कार्यक्रम अब लागू हुने चरणमा पुगेको जानकारी दिएका हुन् ।

भट्टले भने, “२० वर्षदेखिको तयारीलाई अब कार्यान्वयनको चरणमा लगिएका छौँ। यसलाई फेल हुन दिइने छैन। कार्यविधि, नीति नियम तयार पारेर मार्गनिर्देशन गर्ने काम पनि अघि बढ्दैछ।” उनले पूर्ण कार्यान्वयनमा आउन करिब एकदेखि डेढ वर्ष लाग्ने र प्रतिफल देखिन कम्तिमा दुई वर्ष आवश्यक हुने अनुमान व्यक्त गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा गरिएको अध्ययन व्यवहारिक भएको र त्यस आधारमा आदेश सरकारबाट आएको जानकारी दिए । उनले सबै इन्धनका सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गर्दै अघि बढ्नुपर्ने र प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारले पनि यस नीतिलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

सचिव कार्कीले भारतसँग खुल्ला नाका भएको कारण मूल्यमा उतारचढाव हुँदा इथानोलको नेपाल–भारत कारोबारमा असर पर्न सक्ने भएकाले मूल्य निर्धारण समितिले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले गुणस्तर विभागले गुणस्तरमा ध्यान दिनु पर्ने, आयल निगमले तयारीमा लाग्नुपर्ने र ढुवानी–भण्डारणका इक्विपमेन्ट परिवर्तन गर्नुपर्ने आवश्यकताबारे पनि जानकारी दिए।

उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले मन्त्रिपरिषद्ले गत पुसमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको जानकारी दिए । हालसम्म नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन नभएको बताउँदै उनले यो आदेशले उत्पादनका लागि बाटो खोल्ने र न्युनतम मूल्य निर्धारण, गुणस्तर निर्धारण र बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले इथानोल मिश्रण कार्यक्रम सफल हुनका लागि मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनुपर्ने बताए । उनले भने,“सरकारले स्पष्ट आश्वासन नदिई अघि बढाएमा कार्यक्रम असफल हुन सक्छ। गुणस्तरीय उत्पादन र प्रभावकारी बजार नियमनबिना आयात प्रतिस्थापनको लक्ष्य पूरा हुँदैन,”।

कार्यक्रममा नेपाल चिनी उत्पादक संघका अध्यक्ष सशिकान्त अग्रवालले नेपालमा वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने तर दुई लाख मेट्रिकटन मात्रै आन्तरिक उत्पादन भइरहेको जानकारी दिए । उनले दुई वर्षभित्र आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको र इथानोल मिश्रणको निर्णय भए पनि कार्यविधि र कार्यान्वयन योजना स्पष्ट हुनुपर्ने बताए ।