‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको बताएका छन् । 

श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताए । आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा पनि गरे । 

पार्टी निर्माण र फुटको पीडा

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गरे ।
“सानो ठाउँबाट निर्माण शुरु गरेर नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो,” उनले भने, “तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे ।”

उनले सही कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको दाबी गरे ।

‘म बाटो बनाउने मान्छे हुँ’

आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको बताए । उनले आफूले जीवनभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने मानिस भएको उल्लेख गरे ।

“म भीरपखेरामा हामफाल्दै बाटो बनाउने मान्छे हुँ । जसले बाटो बनाउँछ, ऊ पहिले अप्ठ्यारोमा जान्छ, ब्लास्टिङ गर्छ र ट्रयाक खोल्छ,” उनले भने, “मैले जिन्दगीभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने काम गरेको छु ।”

भूमिगत काल र जेल जीवनको संघर्ष

अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताए । १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरे ।

पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनको भनाइ थियो ।

पारदर्शिता र सामाजिक न्याय

आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाव नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको उनले बताए । उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको उल्लेख गरे । 

“मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ,” उनले भने । 
यसलाई उहाँले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे ।

युवाहरूलाई सन्देशः ‘समय खेर नफाल्नुस्’

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिए । “समयका डटहरूको जोडाइ नै जिन्दगी हो । समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो,” उनले भने । 

साथै देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न समेत आग्रह गरे ।