स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागिता नहुन आयोगको निर्देशन


काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल वा उम्मेदवारको प्रचारमा संलग्न भएको भन्ने गुनासो आयोगमा प्राप्त भएको छ। यसप्रति आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा भाग लिन नपाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

उनले भने, “निर्वाचन आचारसंहिता, दफा ५ (क) को देहाय ४ अनुसार, स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनैपनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनुहुँदैन। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार फागुन ४ देखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ। तर यस अवधिमा पनि जनप्रतिनिधिहरूले आचारसंहिता विपरीत कुनै भूमिका निर्वाह गर्नु हुँदैन।”

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित सबै पक्षलाई आचारसंहिता कडाईका साथ पालना गर्न आग्रह गरेको छ।