भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताएका छन्।

आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उहाँले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन्।

उनले सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताए । उनले आज बल्खु टेकुसी, कुमारी क्लब, गाम्बेल, शिवनगर, खसीबजार, कलङ्की मन्दिर, लमपाटी, कालीमाटी, कुलेश्वर, फलफूल मण्डी क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए । सो क्रममा उनले स्थानीय बासिन्दा, साना व्यवसायी, श्रमिक तथा युवासँग प्रत्यक्ष संवाद गरेका थिए ।

मतदातासँगको छलफलमा अर्यालले भने, “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने कुरा भाषणको शब्द होइन, कार्यप्रणालीको आधार बन्नुपर्छ । निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गरिनेछ । विकास योजना, बजेट कार्यान्वयन र सार्वजनिक सेवाको मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गरिनेछ । जनगुनासोको प्रकृति हेरि बढीमा एक हप्तादेखि ३० दिनभित्र समाधान प्रक्रिया अघि बढाइनेछ ।”

अर्यालले न्यायोचित बजेट वितरण र शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कलङ्की– सतुङ्गल हुँदै नागढुङ्गा र सीतापाइलादेखि भीमढुङ्गा क्षेत्रलाई हरित कोरिडोरको रूपमा विकास गर्ने योजना रहेको बताए ।