काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा १० अर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले उद्योगी, व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएन)को सहभागितामा एनडीपी कम्पनी स्थापना गरिएको जानकारी दिए । उनका अनुसार उक्त कम्पनीमार्फत देशका ७७ वटै जिल्लामा रहेका उद्यमी र नवप्रवर्तकले आवश्यक पुँजी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ढकालले नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै यसबाट मुलुकमा उद्योग व्यवसाय विस्तार र सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले १० अर्ब रुपैयाँ पेडअप क्यापिटललाई इक्विटीका रूपमा प्रयोग गरी ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनामा लगानी गर्ने आधार तयार भइसकेको बताए । कम्पनीको संरचना समेत तयार भइसकेकाले देशभरका उद्यमीलाई लगानी पहुँच विस्तार हुने उनको दाबी छ ।
अध्यक्ष ढकालले आफ्नो कार्यकालमा डेडिकेटेड र ट्रंक लाइनको भुक्तानीसम्बन्धी समस्या चर्किएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागिमहासङ्घले अर्धन्यायिक आयोग गठनको पहल गरेको जानकारी दिए । उनले उक्त विषयमा गठित ‘लाल आयोग’को प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन सरकारसमक्ष आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्