काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासन स्थापना गर्न पाँच वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन प्रणाली आवश्यक रहेको बताएका छन्।
मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसले देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरेका हुन्।
उपसभापति शर्माले हाल काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गर्दै, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली जस्ता प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिएका छन्।
उनले भने, “अहिले काँग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू काँग्रेसमा समाहित भइरहेका छन्। एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले काँग्रेसको रुख चिन्ह रोज्नुले पार्टीको बढ्दो आकर्षण पुष्टि गर्छ।”
शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको औंल्याउँदै अब पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिमा गम्भीर बहस हुनुपर्ने प्रस्ताव राखेका छन्।
उनले भने, “हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने सुधारका उपायहरूमा छलफल गरौँ। निर्वाचनलाई युद्धको मैदान नभई परख गर्ने थलो बनाऔँ।”
भ्रष्टाचार नियन्त्रणका लागि काँग्रेसले कठोर नीति अपनाएको जानकारी दिँदै उपसभापति शर्माले भने, “काँग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ। निर्दोष प्रमाणित भए फिर्ता आउन सक्नेछ, तर दोषीलाई कुनै छुट हुनेछैन।”
विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ अवधारणा ल्याएको उपसभापति शर्माले जानकारी दिएका छन्। उनले १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अघि बढाउने र डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाएका छन्।
उनले थपे, “काठमाडौँको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्नाले युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ। बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछापालन र पर्यटनको ठूलो सम्भावना पनि छ, जसले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सहयोग पुर्याउनेछ।”
उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिल गर्दै उनलाई “गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा” को रूपमा प्रस्तुत गरेका छन्।
उनले प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन र ‘मेरो वडा म जिताउँछु’ अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। शर्माले भने, “व्यक्ति सुनिल शर्मालाई मात्र होइन, सिङ्गो काँग्रेसको भिजनलाई जिताउनु पर्छ। २५ गते बिहान जब सुनिल शर्मा विजयी भएको खबर सुनिनेछ, त्यो नै क्षेत्रको समुन्नतिको शुरुवात हुनेछ।”
कार्यक्रममा उपसभापति शर्माले विपक्षीलाई गाली नगरी संस्कारयुक्त राजनीति गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्तालाई प्रेरित गरेका छन्।


प्रतिक्रिया दिनुहोस्