प्रतिनिधिसभा निर्वाचनका लागि म्यादीसहित ३ लाख ४१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार म्यादी प्रहरीसहित कुल ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरिएको हो।

सरकारका अनुसार नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ तथा निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना खटाइएको छ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले हालसम्म देशभरको शान्ति सुरक्षाको अवस्थाबारे कुनै शंका गर्नुपर्ने स्थिति नरहेको बताएका छन्।

उनका अनुसार आयोगले समय–समयमा सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय गरी देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिँदै आएको छ र अहिलेसम्म कुनै गम्भीर सुरक्षा चुनौतीको रिपोर्ट प्राप्त भएको छैन।

तर निर्वाचनको अनुकूल वातावरण बनाउन र आम नागरिकलाई सुरक्षित भएको अनुभूति दिलाउन विगतको तुलनामा यसपटक नेपाली सेना छिट्टै परिचालन गर्ने निर्णय गरिएको जबराले स्पष्ट पारे।

विगतका निर्वाचनमा सेना तेस्रो घेरामा मात्रै राखिँदा सुरक्षा प्रभावकारी नभएको भन्ने राजनीतिक दलहरूको सुझावका आधारमा आवश्यक परे पहिलो घेरामै बस्न सक्ने गरी सुरक्षा मोडालिटी तय गरिएको उनले बताए।

जबराका अनुसार निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने र सरकार तथा आयोगको समन्वयमा सुरक्षा फौज परिचालन गर्ने व्यवस्था छ। सुरुदेखि नै सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल र समन्वय भइरहेको र निर्वाचन सुरक्षा समितिको बैठकमा कुनै गम्भीर समस्या देखिएको जानकारी सुरक्षा निकायबाट प्राप्त भएको उनले बताए।

केही समूहले निर्वाचन बहिष्कार गर्ने घोषणा गरे पनि त्यसले समग्र निर्वाचन प्रक्रियामा असर नपर्ने उनको भनाइ छ। यद्यपि मौसमका कारण केही अवरोध आउन सक्ने सम्भावना भने रहेको उनले उल्लेख गरे।

यो निर्वाचन सामान्य नभएको र नागरिकलाई निर्भीक रूपमा मतदानमा सहभागी गराउनका लागि सेना परिचालन सिफारिस गरिएको जबराले बताए। यसले निर्वाचनमा खटिने अन्य सुरक्षा निकायको मनोबल समेत बढ्ने उनको भनाइ छ।

मतपत्र ढुवानीको जिम्मा पनि नेपाली सेनालाई दिइएको छ भने हिमाली जिल्लाहरूमा सेनाकै उपकरण प्रयोग गरी मतपत्र ढुवानी भइरहेको छ। निर्वाचनका क्रममा कतै विस्फोटक पदार्थ फेला परेमा तत्काल र सहज व्यवस्थापन होस् भन्ने उद्देश्यले पनि सेना परिचालन गरिएको उनले स्पष्ट पारे।

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते देशभर एकै चरणमा हुँदैछ।