काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार र उनीहरूको एकाघरका परिवारको बैङ्क खातामा निर्वाचन आयोगले निगरानी बढाएको छ।
आयोगले उम्मेदवारलाई निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा गर्न पटक–पटक सचेत गराएको भए पनि अधिकांशले नगरेपछि यस्तो कदम चालिएको हो।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयोगका आयुक्त सगुन शमशेर जबराका अनुसार बैङ्क खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई आयोगले आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार कारबाही गर्नेछ।
आयोगले निर्वाचन प्रचार–प्रसारको क्रममा उम्मेदवारसहित परिवारका सदस्यहरूको बैङ्क खाताको कारोबारको निगरानी बढाएको छ। उनले भने, “उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने, कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्दैछन्।”
आयोगले राष्ट्र बैंकलाई समेत पत्राचार गरेको र निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता खोल्न उम्मेदवारलाई निर्देशन दिएको थियो। पुरानो खाता प्रयोग गरेर खर्च गरेकालाई आयोगले निगरानीमा राखेको छ। उनले भने, “निर्देशन पालना नगर्ने उम्मेदवारलाई भविष्यमा आचारसंहिता उल्लंघनको मामलामा ब्ल्याकलिस्टमा राखेर कारबाही गरिनेछ। हामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने वातावरण मिलाउन सबैसँग सहकार्य चाहन्छौं।”


प्रतिक्रिया दिनुहोस्