काठमाडौँ । पाकिस्तानले अफगान तालिबान विरुद्ध खुल्ला युद्धको घोषणा गरेको छ ।
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले अफगान तालिबानसँग अब सम्बन्ध ‘खुला युद्ध’को अवस्थामा पुगेको घोषणा गरेपछि दुवै मुलुकबीचको तनाव झनै चर्किएको छ ।
आसिफले सामाजिक सञ्जाल एक्समा लेख्दै पाकिस्तानको धैर्य अब सकिएको र अफÞगÞानिस्तानले सीमा क्षेत्रमा गरिरहेको गतिविधिले अन्ततः यो अवस्था आएको दाबी गरेका छन् ।
काबुल, कन्धार र पक्टिया मा पाकिस्तानका हवाई हमला
अल जजिराकाअनुसार विहीबार रातिदेखि शुक्रबार बिहानसम्म अफगानिस्तानकाे राजधानी काबुल, कन्धार र पक्टिया क्षेत्रमा पाकिस्तानी लडाकु विमानहरूले बमबारी गरेको पुष्टि भएको छ ।
अफगान तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि बमबारीको घटनाको पुष्टि गर्दै मानवीय क्षति नभएको दाबी गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ताकाअनुसार हवाई हमलामा १३३ तालिबान लडाकु मारिएको, २०० भन्दा बढी घाइते, र २७ सैन्य पोस्ट नष्ट गरिएको छ । दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि भने नभएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार, तालिबानले पाकिस्तानका १९ सैन्य चौकी र २ आधार कब्जा गरेको दाबी गरेको छ ।
आक्रमणकाक्रममा ५५ पाकिस्तानी सैनिक मारिएको पनि उल्लेख छ । पाकिस्तान भने यी दाबीहरू सिधै अस्वीकार गरेको छ ।
सूचनामन्त्री अताउल्लाह तरारका अनुसार पाकिस्तानले काबुल, पक्तिका र कन्धारस्थित अफगान तालिबानका रक्षा तथा सैन्य संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको हो ।
उनको दाबी अनुसार पाकिस्तानको सैन्य अभियानकाक्रममा अफगान तालिबानका दुई कोर मुख्यालय, दुई हतियार भण्डार, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्याङ्क नष्ट भएका छन् ।
यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन ।
समाचार एजेन्सी एएफपीका अनुसार शुक्रबार बिहान सबेरै अफगानिस्तानको राजधानी काबुलमा तीव्र विस्फोटका आवाजहरू सुनिएका थिए ।
एएफपीका अनुसार राती करिब १ः५० बजे काबुलका विभिन्न स्थानमा लडाकु विमानहरूको आवाजसँगै लगातार धमाका सुनिएको थियो र काबुलको मध्यभागमा बिहान करिब २ः३० बजे सम्म गोली चलेको आवाज पनि सुनिएको थियो ।
काबुल र कन्धारमा गरिएको यो आक्रमण पाकिस्तान र अफगानिस्तानबिच पछिल्लो समयदेखि भइरहेका झडपहरूको नयाँ आयाम मानिएको छ ।
दुईदेशले अक्टोबर २०२५ मा अस्थायी युद्धविराम गरे पनि सीमामा तनाव जारी छ ।
गत हप्तामात्रै पनि पाकिस्तानले अफगानिस्तानमा रातभर धेरैपटक हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा तालिबानले महिला र बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्