काठमाडौँ । समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन समितिले माघ महिनाकाे दाेस्राे १५ दिन गरेका कामहरूको विवरण सार्वजनिक भएको छ।
उक्त विवरण अनुसार साे समयसम्म कुल २२ सहकारी संस्थाहरूलाई समस्या समाधान प्रक्रियामा समावेश गरिएको छ।
यस अवधिमा सहकारीहरूको असुली ऋण रकम, बचत मिलान रकम, जग्गा तथा लकर रोक्का, तमसुक सङ्कलन, सम्पत्ति मूल्याङ्कन र बचत मागदावी फिर्तासम्बन्धी विस्तृत काम गरिएको छ।
विवरण अनुसार स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कुबेर बचत तथा ऋण सहकारी संस्था लगायतका सहकारीहरूमा मुख्यतया ऋणीहरूको असुली र बचत मिलानको काम सम्पन्न गरिएको छ। केही सहकारीहरूमा जग्गा, खाता र लकरमा रोक्का लगाउने तथा फुकुवा गर्ने कार्यसमेत गरिएको थियो।
कुल २२ सहकारीमा असुली ऋण रकम जम्मा ४३ करोड ८६ लाख ९२ हजार ९२१ रुपैयाँ पुगेको र बचत मिलान रकम ४ करोड ७८ लाख ९२ हजार ७ ८० रुपैयाँ रहेको छ। यस अवधिमा कुल १०० वटा जग्गा/खाता/लकर रोक्का र ४१ वटा फुकुवा प्रक्रिया सम्पन्न भएको छ। यससँगै ९४५ वटा तमसुक सङ्कलन/सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न भएको र २१३ वटा बचत मागदावी फिर्ता गरिएको छ। फिर्ता भएको कुल रकम ३० लाख ८८ हजार १० रुपैयाँ पुगेको छ।
सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारीहरूको प्रभावकारी व्यवस्थापन र पारदर्शी दायित्व भुक्तानी प्रक्रियाले सदस्यहरूमा विश्वास र स्थायित्व सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।


प्रतिक्रिया दिनुहोस्