काठमाडाैँ । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भरतराज ढकालले आफू विरुद्ध भइरहेको भ्रामक तथा नकारात्मक प्रचारप्रति चित्त दुखेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै साे कुरा बताएका हुन् ।ढकालले भने, “म स्याङ्जाको दुर्गम गाउँमा जन्मिएर हुर्किएको सामान्य परिवारको व्यक्ति हुँ। मेरो नेतृत्वमा स्याङ्जाबाट सुरू भएको सानो वित्तीय संस्था राष्ट्रिय स्तरमा अब्बल संस्थामा परिणत भएको छ र हजारौं युवालाई रोजगारी सिर्जना गरेको छ। यो संस्थाले समाजमा उल्लेखनीय योगदान पुर्याउँदै अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको तथ्य सर्वविदित छ। मेरो व्यावसायिक यात्रामा जनता, समाज र राष्ट्रलाई अहित गर्ने कुनै कार्य गरेको छैन र जीवन पर्यन्त पनि यस्तो कार्य नगर्ने अठोट लिएको छु।”
उनले स्याङ्जाबासी जनताको सचेततालाई विश्वास गर्दै आफू विरुद्धको गलत प्रचारले आफूलाई थप सजग, उत्तरदायी र आत्मअनुशासित बनाएको उल्लेख गरे। “सत्य कहिल्यै दबिँदैन र असत्य टिक्दैन। म सत्य र निष्ठाको मार्गमा छु र ‘समुन्नत स्याङ्जा’ निर्माणका लागि स्पष्ट दृष्टिकोण, व्यवहारिक योजना र दृढ सङ्कल्पका साथ अघि बढेको छु,” उनले भने ।
ढकालले आफ्नो समर्थकहरूलाई पनि अपील गर्दै अन्य उम्मेदवार वा पार्टीका कार्यकर्ता लक्षित अनावश्यक टीकाटिप्पणी, गालीगलौज वा भ्रामक प्रचार नगर्न आग्रह गरे। उनले भने, “निर्वाचनपछि पनि हामी यही समाजमा बस्नुपर्छ। स्याङ्जाको समग्र विकासका लागि सँगै हातेमालो गर्नुपर्छ।”
यसैगरी क्षेत्र नम्बर १ मा अन्य उम्मेदवारमा मीनप्रसाद गुरुङ (नेकपा एमाले), शैलेन्द्र घिमिरे (नेपाली कम्युनिस्ट पार्टी), धनञ्जय रेग्मी (राष्ट्रिय स्वतन्त्र पार्टी), हुकुमबहादुर राना (राष्ट्रिय प्रजातन्त्र पार्टी), रवीन्द्र मल्ल (उज्यालो नेपाल पार्टी), पिरन गुरुङ्ग (श्रम संस्कृति पार्टी), रनबहादुर विश्वकर्मा (प्रगतिशील लोकतान्त्रिक पार्टी), अर्जुनकुमार गुरुङ (नेशनल रिपब्लिक नेपाल), सोमबहादुर परियार (नेपाल कम्युनिस्ट पार्टी–माओवादी), अशोक विष्ट (स्वतन्त्र) र यामबहादुर गुरुङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) रहेका छन्।


प्रतिक्रिया दिनुहोस्