संयोजक दाहालको दाबीः कांग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु कांग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।

शुक्रवार नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन् । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ ।

उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गरे ।

उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे । उनले नेकपाले निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।