चितवनबाट पर्यटन–कृषि जोड्ने बालेनको सन्देश


चितवन । बालेन्द्र शाह (बालेन) ले चितवनलाई देशको पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनको नमूना क्षेत्रका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका उनले चुनावी सभामा बोल्दै पर्यटन र कृषि दुवै क्षेत्रमा ‘लोकल इकोनोमी’ मजबुत बनाउनु पर्नेमा जोड दिए।

उनका अनुसार चितवनका थारु समुदायले सञ्चालन गरेका होमस्टे र रिसोर्टहरूले स्थानीय उत्पादन, पहिरन, संगीत र परिकारलाई पर्यटनसँग जोडेर उदाहरणीय अभ्यास गरेका छन्। “चितवनले देशलाई पर्यटन प्रवर्द्धन सिकाउन सक्छ,” उनले भने।

कृषि क्षेत्रमा भने किसानले उचित मूल्य नपाएको र बिचौलिया प्रभाव बढेको आरोप लगाउँदै बालेनले देशबासीलाई स्वदेशमै उत्पादन भएको तरकारी उपभोग गराउने नीति आवश्यक रहेको बताए। किसानलाई सही मूल्य र बजार सुनिश्चित नगरेसम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने उनको तर्क थियो।

चितवनबाटै स्थानीय उत्पादन, स्थानीय रोजगारी र पर्यटनलाई एकीकृत गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने सन्देश उनले दिएका छन्।