निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घनमा ८ लाई कारबाही, ९४ जनासँग स्पष्टीकरण


काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै ८ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण सोधिएको छ ।

आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट प्राप्त ५७ वटा स्पष्टीकरणको जवाफ अध्ययन गरिएको छ । थप रूपमा ६ जनासँग पुनः स्पष्टीकरण माग गरिएको छ ।

निर्वाचन आयोगका अनुसार उजुरीका आधारमा दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरण सोधिएको छ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये एक हजार ६१ वटा उजुरीको छिनोफानो भइसकेको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट परेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।