होली पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन स्याङजाको अनुरोध


काठमाडाैँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङजाले सबै सरोकारवालालाई शान्ति, सद्भाव र कानूनी मर्यादामा रहन अनुरोध गरेको छ।

प्रशासनका अनुसार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अधिकतम प्रयास गरिरहेको कार्यालयले जनाएको छ। उम्मेदवार, मतदाता, मतदान सामग्रीसहित निर्वाचनसँग सम्बन्धित सबै पक्षको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको पनि प्रशासनको भनाइ छ।

प्रशासनले प्रचलित कानून र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई सफल बनाउन जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारी, मतदाता, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा नागरिक समाजलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

यसैबिच पहाडी क्षेत्रमा निर्वाचनको पूर्वसन्ध्यामा फागुन १८ गते रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) पर्ने भएकाले पर्वलाई सामाजिक तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्दै मर्यादित रूपमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ। कसैको इच्छा विपरीत जबर्जस्ती रङ लगाउने, प्रचलित कानून र स्थानीय प्रशासनद्वारा निषेधित कार्य गर्ने, धार्मिक तथा राजनीतिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न सबैलाई सचेत गराइएको छ।

सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झैझगडा, भिडभाड तथा हुलहुज्जतजन्य गतिविधि गर्ने वा समाजमा अशान्ति फैलाउने किसिमका अशोभनीय क्रियाकलाप नगर्न–नगराउन प्रशासनले स्पष्ट चेतावनी दिएको छ। साथै, होली पर्वको समयमा निर्वाचनको वातावरण प्रभावित नहुने गरी मात्रै प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ।