काठमाडाैँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न आग्रह गरेका छन् ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त आह्वान गरेका हुन् । निर्वाचन सम्बन्धी ऐन नियममा ‘मौन अवधि’ भन्ने शब्द कतै पनि प्रयुक्त नभएकाले यसलाई ‘शुन्य समय’ वा ‘स्थिर समय’ भन्नु नै कानूनसम्मत हुने बताए ।
शब्दावलीको प्रयोगमा स्पष्टता हुनुपर्नेमा उनकाे जोड छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले १८ गते राति १२ बजेदेखि शुन्य समय शुरु हुने बताए ।
उनले यो संवेदनशील समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न र समाजलाई सही दिशामा डो¥याउन आग्रह गरे ।
उनले भने, “मैले यसलाई मौन अवधि भनेर कुनै पनि निर्वाचन सम्बन्धी ऐन नियमले सम्बोधन नगरेको हुनाले शून्य समय वा स्थिर समय भन्ने गरेको छु । सञ्चार जगतले समाजलाई एउटा अनुशासनको शिक्षा दिएर अगाडि ल्याउने कार्यमा असाध्यै राम्रो भुमिका खेलिरहेको छ ।”
उनले सञ्चार जगतलाई निर्वाचन आयोगको सहयोगी शक्तिका रूपमा चित्रण गर्दै यो समयमा संयमित र जिम्मेवार बन्न आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस्