आजै सबै मतदान केन्द्रमा पुग्न कर्मचारी र सुरक्षाकर्मीलाई आयोगको निर्देशन


काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन तीव्र पारिएको छ। निर्वाचन आयोगले सोमबार अपराह्नसम्म सबै मतदान केन्द्रमा खटिने जनशक्ति अनिवार्य रूपमा पुगिसक्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विकट तथा दुर्गम क्षेत्रका अधिकांश केन्द्रमा कर्मचारी यसअघि नै पुगिसकेका छन् भने यातायात सुविधा पुगेका स्थानमा सोमबार बेलुकासम्म तयारी पूरा गरिनेछ।

मतदान अधिकृतले केन्द्रको चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने र प्रचारप्रसार रोकिएको जानकारी सार्वजनिक गर्ने कार्य आजै सम्पन्न गर्नुपर्नेछ।

निर्वाचन सामग्री बुझ्ने र सुरक्षा व्यवस्थापनको जिम्मा नेपाल प्रहरीले लिएको छ। आयोग र प्रहरी मुख्यालयले मतपत्र तथा अन्य सामग्री २४ सै घण्टा निगरानीमा राख्न निर्देशन दिएका छन्।

निर्देशिका अनुसार प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र रहनेछ भने एक केन्द्रमा अधिकतम एक हजार मतदाता मात्र रहने व्यवस्था छ।

मतदान सम्पन्न भई मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।