निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी


काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेकी छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गरिन्।

प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन निर्णायक रहेको बताउँदै मतदान केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया नभई आफ्नो र सन्ततिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय भएको उल्लेख गरिन्।

उनले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण अवस्थाको स्मरण गर्दै सडकमा देखिएको युवाको आक्रोश र अन्योलपूर्ण परिस्थितिबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्‍याउन सरकार सफल भएको दाबी गरिन्।

कठिन संक्रमण व्यवस्थापन गर्दै संविधानको मार्गमा देशलाई फर्काउन सफल भएको बताउँदै उनले त्यसलाई सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको धारणा राखिन्।

निर्वाचन तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गरिन्। छोटो अवधिमै आवश्यक तयारी पूरा गरिएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिन्। साथै, मौन अवधिमा अनुशासन र संयम कायम राख्न तथा स्वस्थ प्रतिस्पर्धा गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरिन्।

उनले शान्ति र अमनचयनलाई नेपालको पहिचान भन्दै चुनावी प्रतिस्पर्धा स्वस्थ र मर्यादित हुनुपर्नेमा जोड दिइन्। फरक विचार लोकतन्त्रको सौन्दर्य भए पनि मनमुटाव र वैमनस्य बढ्न नहुने उनको भनाइ थियो। लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई धन्यवाद दिँदै उनले उनीहरूको सक्रियताले नै लोकतन्त्र जीवन्त रहने बताइन्।

यसैबीच प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममार्फत तथ्यहीन, भ्रामक र कृत्रिम सामग्री प्रसारण गरी निर्वाचनको वातावरण बिगार्ने प्रयासप्रति सरकार सतर्क रहेको चेतावनी दिइन्। दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिइने र कानूनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उनको स्पष्ट धारणा छ।