मध्यपूर्वमा तनावः नेपाली नागरिकको सुरक्षाका लागि ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन


काठमाडौँ । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा, समन्वय र आवश्यक परे उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त टिम गठन गरिएको हो ।

मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयबारे जानकारी दिँदै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले टिमले मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाक्रमको निरन्तर अनुगमन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने तथा आवश्यक परे उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने बताए।

खड्काका अनुसार मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक कूटनीतिक समन्वयलाई समेत तीव्र पारिएको छ । उनले सम्बन्धित निकायलाई प्रतिनिधि मनोनयन गरी पठाउन पत्राचार भइसकेको जानकारी दिए।

गठित टिममा परराष्ट्र मन्त्रालयसहित गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि रहनेछन् । त्यस्तै वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि पनि टिममा समावेश हुने व्यवस्था गरिएको छ ।

खड्काले भने, “पछिल्ला घटनाक्रमको सन्दर्भमा परिस्थितिको निरन्तर अनुगमन गर्ने, सरोकारवाला निकायबीच अन्तरनिकाय समन्वय सुदृढ गर्ने, उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्न नेपाल सरकारलाई सुझाव दिने तथा मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र सचिवज्यूको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएको हो ।”

उनका अनुसार परराष्ट्र सचिव राईको निर्देशनमा उक्त टिमले कार्यसम्पादनसमेत सुरु गरिसकेको छ ।