काठमाडौँ । निर्वाचन आयोग ले मतदानका दिन मतदाताले अनिवार्य रूपमा मतदाता परिचयपत्र साथमा ल्याउन आग्रह गरेको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट जानकारी गराउँदै मतदातालाई निर्धारित कागजातसहित मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरे।
उनका अनुसार मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।
मतदान केन्द्रमा पुगेपछि मतदाताको नाम मतदाता नामावलीमा रुजु गरिनेछ । त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र उपलब्ध गराइनेछ । मतदाताले गोप्य मतदान कक्षमा गई आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर प्रत्यक्षतर्फको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।
प्रत्यक्षतर्फ मतदान गरेलगत्तै समानुपातिक तर्फको मतपत्र प्रदान गरिनेछ । समानुपातिक प्रणाली अन्तर्गत मतदाताले आफूले रोजेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा मत खसाल्नुपर्ने व्यवस्था रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन डिजिटल माध्यम तथा स्वयंसेवकमार्फत घर–टोलमै पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, राजनीतिक दल र आमसञ्चार माध्यमबाट प्रवाह भएका सूचनाले पनि मतदातासम्म आवश्यक जानकारी पुगेको विश्वास आयोगले व्यक्त गरेको छ ।
भीडभाड कम गर्न र मतदानलाई सहज बनाउन मतदान केन्द्रमा प्रवेश र बाहिरिने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको आयोगले जनाएको छ । यसले अनावश्यक भीड नियन्त्रण भई मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण मिल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्