काठमाडाैँ । गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा नगदसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई मंगलबार राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेर जाँच गरिएको थियो।
सो क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।
यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्